प्रहरी कर्मचारीमा हुनुपर्ने गुणहरु (प्रहरी आचरण)

प्रहरी नियमावली, २०७१

परिच्छेद–९ प्रहरी आचरण


९३. दान उपहार लिन नहुने : 

सरकारी काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कुनै पनि प्रहरी कर्मचारी र निजको परिवारका सदस्य समेतले नेपाल सरकारको पूर्व स्वीकृति बिना स्वदेशी वा विदेशी कसैबाट पनि कुनै प्रकारको दान दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापट लिनु हुँदैन ।
प्रहरी कर्मचारीले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भएबमोजिम गर्नुपर्छ ।


९४. चन्दा लिन नहुने :

प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति बिना कुनै पनि कामको निमित्त कुनै किसिमको चन्दा माग्न अथवा स्वीकार गर्नु हुँदैन र अरू कुनै किसिमको आर्थिक सहायता प्राप्त गर्ने काममा समेत भाग लिन हुँदैन ।


९५. सम्पत्तिको विवरण दिनुपर्ने :

प्रत्येक प्रहरी कर्मचारीले नेपाल सरकारले तोकेको फाराममा आफ्नो सम्पति विवरण भरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्बन्धित कार्यालय मार्फत प्रहरी किताबखानामा बुझाउनु पर्नेछ ।


९६. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने:

  • प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका काम गर्नु हुँदैन ।
  • कुनै बैक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन ।
  • प्रचलित कानूनबमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न ।
  • अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।


९७. सरकारी काममा थाहा पाएका कुराहरू प्रकाश गर्नमा प्रतिवन्ध:

प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा अथवा विशेष रूपबाट अख्तियार नपाई आफूले सरकारी कर्तव्यको पालना गर्दा सरकारी अथवा गैरसरकारी साधनहरूबाट प्राप्त गरेको वा आफूले लेखेको अथवा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई जानकारी दिन हुँदैन । यो प्रतिबन्ध जुनसुकै कारणले प्रहरी सेवाबाट अलग रहेको व्यक्तिको हकमा समेत लागू हुनेछ ।


९८. रेडियो वा पत्रिकासँग सम्पर्क राख्न नहुने :

  • प्रहरी कर्मचारीले नेपाल सरकारको अनुमति प्राप्त नगरी कुनै पत्रपत्रिकामा आफ्नै वास्तविक अथवा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख प्रकाशित गर्न अथवा रेडियोद्वारा प्रसारण गर्न हुँदैन । तर प्रहरी सङ्गठनको प्रवक्ताको रुपमा तोकिएको प्रहरी कर्मचारीले सम्बन्धित प्रहरी सङ्गठनको प्रमुखको अनुमतिमा कार्यालयको गतिविधि सम्बन्धी जानकारी वा सूचना प्रवाह गर्न बाधा पर्ने छैन ।
  • उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्यिक, कलात्मक, ऐतिहासिक, वैज्ञानिक र व्यावसायिक विषयको लेख प्रकाशन वा प्रसारण गर्न सकिनेछ । तर त्यस्तो लेख प्रकाशन वा प्रसारण गरेपछि आफ्नो कार्यालयमा जानकारी गराउनु पर्नेछ ।


९९. नेपाल सरकारको आलोचना गर्न नहुने :

  • प्रहरी कर्मचारीले नेपाल सरकारको नीति विरुद्ध असर पर्ने गरी अथवा नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा अथवा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख
  • प्रकाशित गर्न, प्रेसलाई कुनै खबर दिन, रेडियो वा टेलीभिजन आदिद्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन ।
  • उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गर्न बाधा पर्ने छैन ।


१००. निर्वाचनमा भाग लिन नहुने :

प्रहरी कर्मचारीले कुनै राजनीतिक पदका लागि कुनै निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा अन्य कुनै प्रकारले आफ्नो प्रभाव पार्न हुँदैन । तर कसैलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून बमोजिम आफ्नो मताधिकार प्रयोग गर्न बाधा पर्ने छैन ।


१०१. राजनीतिमा भाग लिन नहुने :

प्रहरी कर्मचारीले कुनै राजनीतिक संस्थाको सदस्य बन्न, राजनीतिमा भाग लिन, राजनीतिक संस्थालाई सहायताको निमित्त चन्दा दिन अथवा कुनै राजनीतिक संस्था वा आन्दोलनलाई अन्य कुनै प्रकारले प्रभाव पार्न हुँदैन ।

१०१ (क) स्थायी आवासीय अनुमति लिन नहुने :

प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन हँदैन ।

१०१ (ख) स्वयम् घोषणा गरी विवरण पेश गर्नु पर्ने :

यो नियम प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको प्रत्येक प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र सोको स्वयम् घोषणा गरी देहाय बमोजिमको विवरण आफू कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ :

(क) आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पद ।
(ख) स्थायी आवासीय अनुमति लिएको भए सो लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको भए सोको मिति ।
(ग) सम्बन्धित विदेशी मुलुकको नाम ।
(घ) आफूले लिएको स्थायी आवासीय अनुमति परित्याग गर्न वा त्यस्तो अनुमतिको लागि दिएको आवेदन रद्द गराउन इच्छुक भए नभएको ।
(ङ) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले यो नियमावली प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको भएमा यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र र यो नियमावली प्रारम्भ भए पछि त्यस्तो अनुमति लिएमा अनुमति लिएको तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले आफू कार्यरत कार्यालयमा देहाय बमोजिमको विवरण पेश गर्नु पर्नेछ :
  • आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पद,
  • पति वा पत्नीले स्थायी आवासीय अनुमति लिएको मिति,
  • (सम्बन्धित विदेशी मुलुकको नाम ।

(च) उपनियम (१) वा (२) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित कार्यालयले सो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनु पर्नेछ ।


१०२. प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाइ :

कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तव्यपालनका सम्बन्धमा लेखाइएका झुठ्ठा आरोपको निमित्त प्रेस अथवा अदालतको सहारा लिन हुँदैन । तर यस नियमले प्रहरी कर्मचारीको आफ्नो व्यक्तिगत काम अथवा चरित्रको सम्बन्धमा सफाइ दिन पाउने अधिकारमा कुनै बाधा पर्ने छैन ।


१०३. समय पालन र नियमितता :

प्रहरी कर्मचारीले ठीक समयमा तथा नियमित रूपले आफ्नो पालोमा हाजिर हुनु पर्दछ र साधारणतया पहिले बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनु हुँदैन ।


१०४. अनुशासन र आज्ञापालन :

  • प्रहरी कर्मचारीले आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्दछ ।
  • प्रहरी कर्मचारीले आफ्नो सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्दछ ।
  • प्रहरी कर्मचारीले आफू भन्दा माथिका सबै अधिकृतहरूप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मातहतका प्रहरी कर्मचारीहरू प्रति उचित व्यवहार गर्नु पर्नेछ ।


१०५. प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुने :

प्रहरी कर्मचारीले आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब साध्य गर्न आफू भन्दा माथिका अधिकृत माथि कुनै अनुचित प्रभाव पार्न अथवा प्रभाव पार्ने प्रयत्न गर्न हुँदैन ।


१०६. लैङ्गिक संवेदनशील हुनु पर्ने :

कुनै पनि प्रहरी कर्मचारी लैङ्गिक संवेदनशील रहनु पर्नेछ ।


१०७. कानून विपरीत विवाहमा प्रतिबन्ध :

प्रहरी कर्मचारीले बिहावारी सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी विवाह गर्नु गराउनु हुँदैन ।


१०८. हातपात वा जोरजुलुम गर्न नहुने :

कुनै प्रहरी कर्मचारीले आफूभन्दा माथिल्लो वा मातहत प्रहरी कर्मचारी उपर हातपात वा कुनै प्रकारको आक्रमण वा जोरजुलुम गर्न वा गराउन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post