राष्ट्रिय अनुसन्धान विभागको इतिहास

राष्ट्रिय अनुसन्धान विभाग, नेपाल (National Investigation Department, Nepal)

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारीभित्र पर्दछ । राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्‍याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको यो विभागको केन्द्रीय कार्यालय सिंहदरवारमा रहेको छ ।



राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित प्रवर्द्दन गर्न सहयोग पुग्ने कुनै पनि सूचना उपलव्ध गराई राष्ट्रिय सुरक्षा व्यवस्था वलियो वनाउने कार्यमा योगदान पुर्‍याउन आम नेपाली नागरिकहरुमा राष्ट्रिय अनुसन्धान विभाग हार्दिक अनुरोध गर्दछ ।
सूचनाहरु विभाग र अन्तरगतका कार्यालय वा विभागको वेभसाईट (www.nidept.gov.np) मा उपलब्ध गराउन सकिने छ । विभागमा प्राप्त हुन आउने सूचनाको सुरक्षा र स्रोत पूर्णतः गोप्य राखिने छन् ।

ईतिहास (History)

राष्ट्रिय अनुसन्धान विभाग नेपालको मुख्य गुप्तचर निकाय हो । यो गृह मन्त्रालय अन्तर्गत रहँदै आएकोमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ । प्रजातान्त्रिक शासन प्रणालीको उदय हुनुपूर्व नेपालको राज्य सञ्चालनमा गुप्तचर सम्बन्धी कार्य पक्कै हुने गरेको विश्वास गरिएता पनि वैधानिक रुपले संस्थागत तबरमा यो कामको प्रारम्भ प्रजातन्त्रको स्थापना पछि मात्र हुन गएको पाइन्छ । मुख्यतया वि.सं. २०१७ सालमा नेपालमा भएको राजनीतिक परिवर्तन पश्चात् देशको राष्ट्रिय सुरक्षा तथा संविधानले परिलक्षित गरेका उद्देश्य एवं काम कारबाहीका विश्वसनीय कार्यान्वयनमा नेपालको यो संस्थाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

राजनीतिक प्रणाली र संविधान परिवर्तित हुँदै आए पनि प्रचलित शासन प्रणाली तथा त्यस अन्तर्गतको संविधानको रक्षा गर्न राज्यले यो संस्थालाई प्रमुख जिम्मेवारी प्रदान गर्दै आएको देखिन्छ ।राजनीतिक परिवर्तन र समयको कालखण्डमा गुप्तचर सम्बन्धी कार्य सम्पादन गर्न राज्यले यस संस्थाको नाम सेन्ट्रल इन्टिलिजेनस ब्युरो, नेपाल सरकार गुप्तचर विभाग, नेपाल गुप्तचर विभाग, नेपाल जनसम्पर्क प्रधान कार्यालय र वर्तमानमा ‘राष्ट्रिय अनुसन्धान विभाग’ नामकरण गरे पनि यसलाई प्रदान गरिंदै आएको मुख्य दायित्व भनेको नेपालको राष्ट्रिय सुरक्षासंग सम्बन्धित महत्वपुर्ण पक्ष र देशको संविधानको रक्षा, संवद्र्धन र विकास गर्नु नै रहँदै आएको छ ।

२०७२ साल आश्विन ३ गते वर्तमान शासन पद्धतिअनुरुप ‘नेपालको संविधान’ जारी भएपछि उक्त संविधानको भाग २८ को ‘राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था’ शीर्षक अन्तर्गत धारा २६८ मा संघमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग रहनेछन् भन्ने उल्लेख गरिएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ भनी दफा ४ मा दर्शाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post