सरकारले असार दोस्रो सातादेखि ‘Smart Lockdown’ गर्ने भएको छ । स्मार्ट लकडाउन भनेको के हो ?

सरकारले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । बुधबार राति बालुवाटारमा बसेको कोभिड व्यवस्थापन निर्देशन समितिको बैठकले आगामी सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको हो । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ ।

सवारी साधनमा संख्याको आधारमा निर्धारण गर्ने, सरकारी कार्यालय सातामा दुई दिन बिदा, स्मार्ट लकडाउनका लागि तयार पारिएको मोडालिटीअनुरसार सबै व्यापार व्यवसाय खोल्नेलगायतका विकल्पमा छलफल गरी ‘स्मार्ट लकडाउन’ गर्न लागिएको हो ।

अहिले काठमाण्डु उपत्यकाभित्र जारी निषेधाज्ञा असार ७ गतेसम्म थप भएको थियो । त्यसपछि पनि निषेधाज्ञा कायमै रहने तर केही मोडालिटी मात्रै परिवर्तन गरिने समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिए । काठमाण्डु, ललितपुर, भक्तपुर, चितवनलगायत ७५ जिल्लामा निषेधाज्ञा कायमै छ ।



के हो स्मार्ट लकडाउन ?

बुधबार राति बसेको सीसीएमसीको बैठकले ‘स्मार्ट लकडाउन’ गर्ने निर्णयगरेसँगै अहिले ‘स्मार्ट लकडाउन’को चर्चा चुलिएको छ । सरकारले अबको मोडालिटी ‘स्मार्ट लकडाउन’ भनेको छ । तर धेरैलाई ‘स्मार्ट लकडाउन’ भन्नेमै अन्यौलता छ । स्मार्ट लकडाउनमा अहिलेभन्दा धेरै क्षेत्रहरु खुल्नेछन् तर त्यो सामान्य अवस्था भने होइन ।

समितिका कार्यकारी निर्देशक शर्माले निषेधाज्ञा र लकडाउनमा भन्दा सहज अनुभूति गर्नु ‘स्मार्ट लकडाउन’ भएको बताए । उनका अनुसार यसमा सबै क्षेत्रमा बन्देज लगाइएको हुँदैन । ‘स्मार्ट लकडाउन’मा सवारी साधन संख्याको आधारमा चल्न दिइनेछ भने सबै व्यवसायहरू खुला हुनेछन् । स्मार्ट लकडाउनको मोडालिटीअनुसार कुन दिन कुन नम्बरका सवारी साधन चलाउने भन्ने निर्धारण गरिनेछ ।

त्यस्तै यसमा सबै व्यापार व्यवसाय पनि खुला हुनेछन् । अहिले जस्तो अत्यावश्यक, खाद्यान्न लगायत पसलहरूमा मात्र खुला हुनेछैन । समितिले तयार पारेको स्मार्ट लकडाउन मोडिलाटी अनुसार सबै पसलहरू खुल्ने छ । तर, समय निर्धारण गरिने छ । जस्तो खाद्यान्नलाई ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म, हार्डवेयर पसल तथा अन्य पसलहरू १ देखि ४ बजेसम्म गरेर पसलको वर्गीकरण गरेर खोलिने निर्देशक शर्माले बताए ।

त्यस्तै स्मार्ट लकडाउनमा अनलाईन व्यापारहरुलाई समेत प्रोत्साहन गर्ने सीसीएमसीले निर्णय गरेको छ । त्यस्तै सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालन हुने छन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

यसै गरी गैरआवासीय नेपालीबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post