टी-२० सिरिजको फाइनल आज : नेपाललाई उपाधि घरमा राख्ने मौका

 BBC Samachar

News (समाचार)

टी-२० सिरिजको फाइनल आज


११ वैशाख काठमाडौं । नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् ।

डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा नेदरल्याण्ड्सले २ जित र १ बराबरीबाट ६–५ अंक जोड्यो । ३ खेलमा हार र १ बराबरीबाट १ अंक जोडेको मलेसिया १ जितविहिन हुँदै बाहिरियो ।
लिग चरणमा नेपालले नेदरल्याण्ड्सलाई एक पटक पराजित गर्दा एक पटक नेदरल्याण्ड्सले नेपाललाई हरायो ।
त्यसैले फाइनल खेल दुवै टिमका लागि रियल गेमको रुपमा रहेको छ । नेपालको लागि उपाधि जित्न यो अन्तिम परिक्षाको रुपमा रहेको छ ।

सिरिजको उद्घाटन खेलमै नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको थियो । अर्को खेलमा नेदरल्याण्ड्सले यहाँको कन्डिसन र पिच बुझिसकेपछि नेपाललाई ३ विकेटले हराएर बदला लियो । नेपालले २०६ रन बनाएर पनि डिफेण्ड गर्न सकेन ।

अहिलेसम्म दुवै टोली १–१ को अवस्थामा छन् । अब फाइनल जित्ने टिममै बेस्ट हुनेछ र उपाधि आफ्नो पक्षमा पार्नेछ । नेपालले यसअघि दुई पटक टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेपनि त्रिकोणात्मक सिरिज जितेको छैन । त्यसैले घरेलु मैदानमा भएको पहिलो त्रिकोणात्मक सिरिज जित्दै इतिहास रच्ने अवसर पनि छ ।

पछिल्लो पटक नेपालले सन् २०१९ जुलाईमा मलेसियालाई उसैको मैदानमा दुई खेलको सिरिजमा क्लिनस्वीप गरेको थियो । त्यसपछि नेपालले सेप्टेम्बर–अक्टोबरमा सिंगापुरमा खेलेको त्रिकोणात्मक सिरिजमा उपविजेता बन्यो । २०१९ कै अक्टोबरमा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपाल तेस्रो भयो ।

कोभिड–१९ का कारण पहिलो पटक नेपालले बाओ बबलमा क्रिकेट खेलिरहेको छ र घरेलु मैदानमा खेलेको पनि यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज हो । त्यसमा पनि नेपालले नेदरल्याण्ड्स जस्तो टिमसँग फाइनल खेल्दैछ । त्यसैले नेदरल्याण्ड्सलाई पराजित गर्दै घरमै ऐतिहासिक उपाधि राख्ने अवसर नेपाललाई छ ।

यस सिरिजमा नेपालको लागि अर्को सकारात्मक पक्ष भनेको ब्याटिङ नै हो । नेपालले सिरिजमा दुई खेलमा दुई सय रनको स्कोर पार गरेको छ । त्यसमा पनि दुई ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय डेब्यूमै शुरुको लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका कुशल उत्कृष्ट लयमा छन् । उनले चार खेलमा २०१ रन बनाइसकेका छन् भने सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् ।
लिगमा नेदरल्याण्ड्स र मलेसियाविरुद्ध यो जोडीले लगातार दुई शतकीय साझेदारी गरेका थिए । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि आक्रमक ब्याटिङ गरिरहेका छन् । मलेसिया विरुद्ध पछिल्लो खेलमा करण केसीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएर आफ्नो क्षमता पनि देखाइसकेका छन् ।

स्पीन बलिङमा सन्दीप लामिछानेले चार खेलमा सर्वाधिक ११ विकेट लिइसकेका छन् ।नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ डोडले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले लिगको ३ खेलमा एक शतकसहित १५२ रन बनाएका छन् ।

फाइनलमा नेपालले ब्याक टु ब्याक विकेट दिने शैलीलाई रोक्नुपर्ने र बलिङ गर्दा डट बल फाल्ने र बाउन्ड्री रोक्नुपर्ने कप्तान ज्ञानेन्द्रले बताएका छन् ।
यस्तै नेपाली टिमका पूर्वसदस्य शक्ति गौचनले पनि ब्याटिङ राम्रो भइरहेको र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् । फाइनलमा राम्रो खेल्ने टोलीले जित्ने भन्दै गौचनले टस जितेमा फिल्डिङ गर्नु नै उपयुक्त भने बताए ।
©Onlinekhabar

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post