त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स द्वारा मलेसिया पराजित

  


५ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओडोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो ।

पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ ।

नेदरल्याण्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो । भिरनदिप सिंहले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाएपनि मलेसियालाई जित दिलाउन सकेनन् ।

मलेसियाका लागि भिरनदिप सिंहले ५३ बल खेल्दै ६ छक्का र ६ चौका प्रहार गर्दै सर्वाधिक ८७ रन बनाए । यस्तै शार्भिन मुनिएन्डीले २८ र अमिनुद्दिन राम्लीले २६ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोडेन सकेनन् ।

मलेसियाको शुरुवात भने खराब थियो । नेदरल्याण्ड्सका आर्यन दत्तले पहिलो ओभरमै अनवर अरुद्दिन र कप्तान अहमद फैजलाई आउट गर्दै डच टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर सायद अजित व्यक्तिगत ७ रनमा आउट हुँदा मलेसियाले २० रन जोड्दैमा तेस्रो विकेट गुमाएको थियो ।

चौथो विकेटका लागि भिरनदिप सिंह र शर्भिन मुनिएन्डीले अर्धशतीकय साझेदारी गरे । यी दुईले ५८ रन जोडे । मुनिएन्डी २८ रन बनाएर आउट भए । त्यसपछि विकेटकिपर शाफिक शारिफ खाता नखोली आउट भए ।

भिरदिनप र अमिनुद्दिन रामलीले मिलेर साझेदारी गर्ने प्रयास गरेका थिए । तर रामली २६ रन बनाएर १४ औं ओभरमा आउट भएपछि मलेसियाले सातौं विकेट गुमायो । १६ औं ओभर खिजर हायत २ रन बनाएर आउट भए ।

एक छेउबाट मलेसियाको इनिङ्स सम्हालिरहेका भिरनदिप सिंह १९औं ओभरको चौथो बलमा आउट भएपछि मलेसियाको सम्भावना कठिन बन्यो । भिसेको बलमा भिरनदिप सेबास्टिएन ब्राटबाट क्याचआउट भए । मुहम्मद वाफिक ६ र अनवर रहमान १ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास डे लिड र सेबास्टिएन ब्राटले २-२ विकेट लिए । आयर्नले २ ओभरमा १४ रन खर्चिँदा डे लिडले २ ओभरमा १५ रन खर्चिए । यस्तै फिलिप्पे बोइसेभेन र कप्तान पिटर सिलारले समान १ विकेट लिए ।

त्यसअघि नेदरल्याण्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओडोडले अविजित १३३ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

ओपनिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १०२ रन बनाउँदै शतक पूरा गरे । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।

म्याक्स ओडोडले इनिङ्सभर ब्याटिङ गर्दै अविजित १३३ रन बनाए । उनले ७३ बल खेल्दै १५ चौका र ६ छक्का प्रहार गरे । उनले ९६ रन बाउन्ड्रीबाट मात्रै जोडेका थिए ।

साथै म्याक्स ओडोडले तेस्रो विकेटका लागि बेन कुपरसंग अविजित १२५ रनको साझेदारी गरे । नदेलर्यण्ड्सका लागि यो कुनै पनि विकेटका लागि भएको दोस्रो उच्च साझेदारी हो भने तेस्रो विकेटका लागि पहिलो उच्च साझेदारी हो ।

म्याक्स ओडोड र बेन कुपरले नै सन् २०१९ मा आयरल्याण्ड्स विरुद्ध दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिउ ।

यस्तै म्याक्स ओडोड एसोसिएट राष्ट्रबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत बने । उनले स्कटल्याण्डका जर्ज मुन्सेले बनाएको १२७ रनलाई पछि पारे ।

मलेसियाविरुद्ध बेन कुपर २० रनमा अविजित रहे । यस्तै स्कट एडवार्ड्सले ३१ रन जोडे । मलेसियाका पभनदिप सिंह र अनवर रहमानले १-१ विकेट लिए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार नेपाल र मलेसियाबीच खेल हुनेछ । खेल दिउँसो १:५ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post