अमेरिकाले दिएको १५ लाख मात्रा खोप काठमाडौं आइपुग्यो

अमेरिकाले उपहारस्वरूप उपलब्ध गराएको जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२ एक मात्रा लगाए पुग्ने खोप हो. 

काठमाडौँ — अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप काठमाडौं आइपुगेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको विमानमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

Check Manakamana Smart Laghubitta IPO Result:


दोहाबाट नियमित उडानका रुपमा आएको उक्त विमान ९:४७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।


विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिइएको बताए । राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।खोप हस्तान्तरण गर्दै राजदूत बेरीले भने, 'यो अमेरिकी जनताका तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरूलाई कोभिड १९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ ।

हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौं । हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन । हाम्रा सर्तहरू खुला र पारदर्शी छन् जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौं । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री श्रेष्ठले उक्त खोप ५०-५४ उमेर समूहका नागरिकलाई लगाइने बताए ।

जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन । विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन । पलिसार्वेट औषधि र मेकअपजस्तो उत्पादनमा पाइने सामान्य घटक हो । यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी छ । खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्ध ६६.९ प्रतिशत प्रभावकारिता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post