अधिकृत भएर काम गर्दै गरेको कल्पना गरेर तयारी गरेँ,एकै लटमा यसरी नाम निस्कियो


उद्धवप्रसाद अधिकारी, शाखा अधिकृत


निजामती सेवामा प्रवेश:

निजामती सेवामा प्रवेश गर्नुअघि लामो समय निजी विद्यालयहरूमा शिक्षण गर्थेँ । बुवा–आमाको निरन्तरको उत्प्रेरणा, दाजु–बहिनी र साथीहरूको प्रभाव र निजी शिक्षण संस्थाहरूले दिने असाध्यै न्यून तलबका कारणले पनि मलाई निजामती सेवातर्फ आकर्षित गर्‍यो ।

फागुन २०६९ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेको हुँ । त्यसपछि ०७१ मा नायब सुब्बामा उत्तीर्ण भएँ र त्यसको एक वर्षपछि २०७२ मा शाखा अधिकृत पदमा दोस्रो नम्बरमा उत्तीर्ण हुन सफल भएँ ।

समय व्यवस्थापन : एउटा महत्वपूर्ण कला:

लोकसेवा आयोगले हामीसँग कति ज्ञान छ भनेर मात्र परीक्षा लिएको होइन । सीमित समयभित्र आफ्नो ज्ञान अभिव्यक्त गर्ने कलाको पनि परीक्षा लिएको हो । त्यसैले यो केवल ज्ञानको परीक्षण मात्र होइन, समय व्यवस्थापनको परीक्षण पनि हो । परीक्षाको तयारीको दौरान होस् अथवा परीक्षामा सहभागी हुँदाको क्षण, समय व्यवस्थापन अत्यन्तै महत्वपूर्ण कला वा चुनौतीका रूपमा सधैँ रहिरहन्छ ।

सामूहिक तयारी असाध्यै प्रभावकारी बन्यो:

मैले धेरैजसो समय समूहमा बसेर लोकसेवा तयारी गरेँ । साथीहरूसँगको निरन्तरको अन्तरक्रिया र छलफलले आफूमा भएका गलत बुझाइहरूको निराकरण हुन्छ ।

द्विविधाहरू हट्दछन् र विषयवस्तुको गाम्भीर्य पनि बोध हुन्छ । प्रत्येक दिन क्रमशः कुनै एकजना साथीले प्रश्नपत्र तयारी गर्ने र बाँकी साथीहरूले परीक्षा दिने गर्दा एकातिर मनबाट परीक्षाको डर हट्थ्यो भने अर्कोतिर ज्ञान र आत्मविश्वासमा पनि अभिवृद्धि हुन्थ्यो ।

ऐनाअगाडि उभिएर पढ्थेँ:

म घरमा हुँदा प्रायः जसो ऐनाअगाडि उभिएर पढ्थेँ । अल्छी लाग्दा कोठामा हिँड्दै पनि पढ्थेँ । मनमनै पढ्दा ध्यान बाहिर जान्छ भनेर म आज पनि सधैँ बोलेर पढ्ने गर्छु । लोकसेवाको तयारी गर्दा आफू अधिकृत भएर काम गरिरहेको कल्पना गर्दै पढ्थेँ ।

अध्ययनमा ‘ब्रेथलेस’ मेथड प्रयोग गरेँ:

सामान्य ज्ञानका कतिपय विषयहरू अध्ययन गर्दा मैले ब्रेथलेस मेथडको प्रयोग गरेँ । जस्तै जिल्लाहरूको नाम वा बाइसे चौबीसे राज्यहरूको नाम वा अन्य यस्तै प्रकारका धेरै विषयहरू सम्झँदा म एकै श्वासमा भन्ने प्रयत्न गर्थेँ । भारतका शंकर महादेवनले ब्रेथलेस गीत गाएजस्तै वा हामीेले सानो छँदा कबड्डी खेलेजस्तै एकै श्वासमा भन्ने प्रयत्न गर्दा त्यो पढाइ, पढाइ नभएर खेल खेलेको जस्तै अनुभूति हुने रहेछ । यो तरिका मेरा लागि यति प्रभावकारी भयो कि म श्वास नफेरी ४०÷५० वटा जिल्लाहरूको नाम १५ सेकेन्डभित्र भनिसक्थेँ ।

कथा, कविता र गीत नै लोकसेवा पास गर्ने सारथी बने:

मैले धेरैजसो नेपाली र हिन्दी चर्चित गीतहरूको लयमा आफ्नो पढाइसम्बन्धी गीत बनाएको थिएँ । मैले तयारीको दौरान आफ्नो पढाइसम्बन्धी झन्डै ३०० भन्दा बढी गीत मोबाइलमा रेकर्ड गरेको थिएँ । त्यसलाई हरेक दिन स्पिकरमा बजाएर सुन्थेँ र सँगसँगै गाउँथेँ । ‘फास्ट बिट’का गीतहरूमा नाच्दै पनि पढेँ ।

सम्झन गाह्रो हुने कतिपय विषयहरूलाई अपत्यारिला वा हाँसो लाग्ने कथाहरू बनाएर पढ्थेँ । कतिपय विषयहरूलाई कवितामा वाचन गर्दै पढ्थेँ ।

यसरी जगाएँ आफैँभित्र उत्प्रेरणा:

परीक्षा तयारीका दौरान मनमा धेरै नकारात्मक भावनाहरू खेल्दछन् । तर, हामीले बुझ्नैपर्ने कुरा के छ भने कोही अब्बल भनिएका प्रतिस्पर्धीहरूको अनुहार हेरेर आफूलाई कमजोर बनाउनुहुँदैन । हामी सबै अब्बल छौँ । प्रश्न यति मात्र हो कि हामीले आफ्नो अध्ययन शैलीलाई आफ्नो स्वभाव अनुकूल बनायौँ कि बनाएनौँ । अथवा हाम्रो लेखन शैली सिर्जनशील र कलात्मक भयो कि भएन ।

म स्कुल र कलेजको परीक्षामा धेरै अब्बल विद्यार्थी होइन । औसत छात्र नै हुँ । तर, समय क्रममा आपूmमा आएको जिम्मेवारीबोध, आफ्नो स्वभाव अनुकूल बदलिएकोले पढ्ने शैली र मेहनत गर्ने बानीको विकासमा पनि मलाई विद्यालयीय परीक्षामा भन्दा लोकसेवा अयोगको परीक्षामा आशातीत सफलता मिल्यो । त्यसैले, मेरो जीवनमा लोकसेवा पास गर्ने मानक स्कुल कलेजको सर्टिफिकेटको अंक कहिले पनि बनेन ।

समग्रमा भन्दा लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएर मात्र नपुग्ने बरु तुलनात्मक रूपमा आफूलाई अब्बल साबित गर्नुपर्ने भएकाले सकारात्मक सोच, धैर्यता, लगनशीलता, निरन्तरको परिश्रम र समाधानमुखी दृष्टिकोणले नै अपेक्षित सफलता दिलाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post