बढुवा नहुँदा १७ वर्षसम्म एउटै पदमा ! कहाँ पुग्यो प्रहरीमा पद थप्ने योजना ?

कुनै व्यक्ति १७ वर्षसम्म एउटै पदमा बस्नुपर्दा कस्तो होला ? ती व्यक्तिको उत्साह, आत्मविश्वास कहाँ पुग्ला ? उनीहरूले के उत्साह र आत्मविश्वासमा रहेर काम गर्लान् ? तर नेपाल प्रहरीमा यही अवस्था छ । २०६१ सालमा असईबाट सई भएकाहरू १७ वर्ष हुँदा पनि बढुवा हुन सकेका छैनन् । जबकि नेपाल प्रहरीमा १६ वर्ष सेवा गरेमै पेन्सन पाइन्छ । तर एउटा पदबाट अर्को पदमा बढुवा हुन भने १७ वर्षभन्दा बढी कुर्नुपर्ने अवस्था छ ।

असईबाट सई बन्न मात्रै होइन, प्रहरी जवानबाट प्रहरी हवल्दार बन्नका लागि पनि करिब १४ वर्ष कुर्नुपर्ने अवस्था छ । प्रहरीमा समयमै बढुवा नहुँदा तल्लो तहमा रहेकाहरु जागिर छाडेर खाडी मुलुकमा सेक्युरिटी गार्डको जागिर खान जानेदेखि अन्य पेसामा पुग्नेहरूको लर्को लामो छ ।


समयमै पदको बढुवा र वृत्ति विकास हुन नसकेपछि नेपाल प्रहरीमा चरम निराशा बढ्न थालेपछि यति बेला नेपाल प्रहरीमा इन्स्पेक्टरभन्दा तलका केही पदहरू थप गर्ने तयारी भएको छ ।

प्रहरी प्रधान कार्यालयले करिब ३ महिना पहिले नै गृह मन्त्रालयमा पद थप गर्ने सम्बन्धमा प्रस्ताव पठाएको थियो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर भने ३ महिना अगाडिदेखि छलफल भएर करिब २० दिन पहिले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाएको बताउँछन् ।

कुँवरका अनुसार अहिले प्रहरी मुख्यालयले परिचरभित्र ४ वटा नयाँ पद सिर्जना गरी ५ तह बनाउने प्रस्ताव गरेको छ भने जवानपछिका सहायक हवल्दार, वरिष्ठ हवलदार र वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पद थप गर्ने गरी प्रस्ताव लगिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव सुरुमा गृह मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको थियो । कानुन मन्त्रालयले आफ्नो राय दिएपछि पुनः गृह मन्त्रालय हुँदै यति बेला उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । नयाँ पद सिर्जना गर्दा केही आर्थिक भार पनि थपिने भएको कारण उक्त प्रस्ताव यति बेला अर्थ मन्त्रालयमा छलफलकै क्रममा रहेको छ ।

यस्तो छ प्रहरीभित्र पद थपको प्रस्ताव:

नेपाल प्रहरीले आफ्नो सङ्गठनभित्र पद थपका लागि प्रस्ताव गरे पनि उक्त प्रस्तावमा नयाँ दरबन्दीको व्यवस्था गरेको । प्रहरीले प्रस्ताव गरेको नयाँ पद यसअघि नै सशस्त्र प्रहरीमा प्रयोगमा आइसकेको छ ।

प्रहरीमा नयाँ पद प्रस्ताव गर्दा प्रहरी जवानभन्दा तल परिचर तहमा हाल कायम रहेको एक पदलाई बढाएर अब ५ पद बनाउन लागिएको छ । प्रहरीभित्र खाना पकाउने, कपाल काट्ने, कपडा सिलाउने, जुत्ता सिलाउने र सरसफाइ लगायतमा काम गर्न परिचरको दरबन्दी राखिएको छ । तर यी दरबन्दीबाट बढुवा हुने व्यवस्था नै छैन । ३० वर्षसम्म सेवा गरेको भएपनि उनीहरू परिचरकै रूपमा बाहिरिने गरेका थिए ।

नयाँ प्रस्तावमा भने परिचरभित्र पनि अब ५ तह बनाउन लागिएको छ । प्रत्येक ६ वर्षमा स्वतः बढुवा हुने गरी परिचर स्तरबाटै सई बराबरको तलब खानेसम्मका लागि नयाँ पदको प्रस्ताव गरिएको छ ।

त्यसै गरी प्रहरी जवानपछि सहायक हवलदार, हवलदार र वरिष्ठ हवलदार रहने गरी २ पद थप गर्न लागिएको छ । यसअघि जवानपछि हवलदार र त्यसपछि प्रहरी सहायक निरीक्षक (असई) हुने व्यवस्था थियो ।

त्यसै गरी प्रहरी सहायक निरीक्षकपछि प्रहरी नायब निरीक्षक पद मात्रै प्रयोगमा रहेकामा अब वरिष्ठ प्रहरी नायब निरीक्षक पद पनि सिर्जना गर्न लागिएको छ ।

बढुवा हुन झन्डै एक पुस्ता (२० वर्ष) कुर्नुपर्ने अवस्था आएपछि प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि पनि नयाँ पद सिर्जना गर्न लागिएको प्रहरी प्रवक्ता वसन्त कुँवरको भनाई छ ।


अब बढीमा ८ वर्षमा बढुवाको व्यवस्था:

यसअघि एक पदबाट अर्को पदमा पुग्न १८ वर्षसम्म लाग्ने गरेकामा अब भने बढीमा ८ वर्षमा एक पद बढुवा गर्ने गरी प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।

अहिलेसम्मको अवस्था हेर्दा प्रहरी जवानमा भर्ना भएको व्यक्ति प्रहरी हवलदार बन्न औसतमा १४ वर्ष लाग्ने गरेको छ । त्यसै गरी असईमा भर्ना भएको व्यक्ति करिब ७ वर्षमा सई बन्ने भएपनि सईबाट इन्स्पेक्टर बन्न करिब १७ वर्ष लाग्ने गरेको छ ।

एउटै पदमा लामो समयसम्म बसिरहनु पर्दा प्रहरी कर्मचारीको मनोबल गिरेको कारण पनि अब बढीमा ८ वर्षमा बढुवा हुने गरी नयाँ पदको प्रस्ताव गरिएको हो ।

नयाँ प्रस्ताव अनुसार अब ६ देखि ७ वर्षमा प्रहरी जवानमा भर्ना भएका व्यक्तिहरू सहायक हवलदार बन्नेछन् । त्यसपछि अर्को ६ देखि ७ वर्षमा प्रहरी हवल्दारमा बढुवा हुनेछन् । त्यसपछि करिब ४ वर्षमै हवलदार मेजर अर्थात् वरिष्ठ हवलदार बन्नेछन् । त्यसपछि प्रहरी सहायक निरीक्षकमा पदोन्नति हुने छ ।

त्यसै गरी प्रहरी सहायक निरीक्षक असईमा भर्ना भएका व्यक्ति करिब ७ वर्षमा प्रहरी नायब निरीक्षक अर्थात् सईमा बढुवा हुनेछन् । त्यसको ८ वर्षभित्रै उनलाई वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) बनाउने तयारी गरिएको छ । वरिष्ठ नायब निरीक्षक बनेको ८ वर्षभित्रै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनाउने गरी प्रस्ताव गरिएको छ ।


अवकाशका समयमा ५ वर्ष पुगे एक तह बढुवाको प्रस्ताव:

त्यसै गरी एक तहबाट अर्को तहमा बढुवा भएको ५ वर्ष पूरा भई जागिरबाट अवकाश लिने अवस्था आएमा एक तह बढुवा गरी अवकाश दिने प्रस्ताव पनि गरिएको छ । प्रहरी नियमावलीको हालको व्यवस्थामा एक तहबाट अर्को तहमा बढुवा भएको १२ वर्ष पुगेको अवस्थामा मात्रै एक तह बढुवा गरी अवकाश दिने व्यवस्था छ । तर यसले प्रहरी कर्मचारीको मनोबल कमजोर बनेको भन्दै सशस्त्र प्रहरीमा भएको व्यवस्था जस्तै गरी ५ वर्ष पुगेमा एक तह बढुवा दिने तयारी गरिएको हो । तर यस्तो व्यवस्था एसपी भन्दा तलका कर्मचारीलाई मात्रै दिने व्यवस्था गर्न लागिएको छ ।


यस्तो छ प्रहरी संरचना:

हाल नेपाल प्रहरीमा करिब ८० हजार जनशक्ति कार्यरत छन् । ती मध्ये सबैभन्दा धेरै अर्थात् प्रहरी जवानमा ४४ हजार जनशक्ति छन् । नेपाल प्रहरीको संगठन संरचना पिरामिड शैलीको भएको कारण तलबाट माथि जाँदा क्रमशः कम हुँदै जान्छन् । हाल करिब ४ हजार ३ सय सई छन् ।

हाल कायम रहेका करिब ४४ हजार प्रहरी जवानमध्ये करिब २५ प्रतिशतलाई सहायक हवल्दारमा बढुवा गर्न सक्ने अवस्था छ । ७ वर्ष सेवा अवधि पुगिसकेका उनीहरूलाई सहायक हवल्दारमा बढुवा गरी पद मिलान गराउने सम्भावना रहन्छ । त्यसै गरी हवल्दार रहेका करिब एक तिहाइलाई बढुवा गरी हवलदार मेजर वा वरिष्ठ हवलदार बनाउने तयारी छ । हाल २०६३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका कतिपय व्यक्ति अझैसम्म पनि प्रहरी जवानमै कार्यरत छन् ।

त्यसै गरी करिब ४ हजार ३ सयको सङ्ख्यामा रहेका प्रहरी नायब निरीक्षक अर्थात् सई मध्ये करिब ३० प्रतिशतलाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) बनाउन सकिने अवस्था छ । ८ वर्ष सईमा काम गरेकामध्ये करिब १ हजार ३ सय जनालाई वरिष्ठ सईमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । तर त्यसका लागि गृह, कानुन र अर्थ मन्त्रालयबाट सहमति लिई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने हुन्छ । हाल २०६१ सालमा असईबाट सईमा बढुवा भएका कैयन् व्यक्तिहरू अझैसम्म पनि बढुवा कुरेर बसिरहेका छन् ।


आर्थिक भारको चिन्ता:

नेपाल प्रहरीभित्र नयाँ पद सिर्जना गर्दा आर्थिक भार थपिने भन्दै यसलाई यथास्थितिमा राख्नुपर्ने प्रस्ताव पनि आएको छ । नयाँ पद सिर्जना गर्दा थपिने तलबमान वृद्धि र पेन्सनपट्टामा समस्या हुने चिन्ता बढेको छ ।

तर प्रहरी सङ्गठनमा रहेर काम गरेका वरिष्ठ अधिकारीहरू नयाँ पद सिर्जना गरे पनि तलबमानमा खासै फरक नपर्ने बताउँछन् । अहिले प्रत्येक वर्ष एक ग्रेडका दरले अधिकतम ८ वर्ष ग्रेड थप हुँदा हालको तलबमानमा झन्डै ९ हजार ६ सय रुपैयाँको वृद्धि हुन्छ । तर बढुवा गरी पद मिलान गरिसकेपछि ग्रेड पनि समायोजन भएकाले तलबमानमा खासै फरक नपर्ने प्रहरी अधिकारीको तर्क छ । किनभने सामान्यतया ८ वर्षभित्रै बढुवा गर्ने भएपछि ग्रेडबापत प्राप्त हुने रकमलाई नै तलबमानमा गणना गरिने भएको कारण तलबमा यसले कुनै समस्या नपार्ने प्रहरी कर्मचारीको भनाई छ ।

तलब मानको सम्बन्धमा खासै फरक नपर्ने भएपनि पेन्सन प्रयोजनमा भने यसले करिब ५० प्रतिशत थप आर्थिक भार थप्नेछ । न्युनतम तलब मान नै वृद्धि हुँदा पेन्सन पाउने प्रहरी कर्मचारीलाई भने थप रकम दिनुपर्ने हुन्छ । अहिले ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश लिने प्रहरी कर्मचारीले ४० लाख पाउँथे भने यो व्यवस्था भएसँगै अब करिब ६० लाख पाउने अवस्था आउँछ । तर नेपाल प्रहरीमा २०६० पछाडि भर्ना भएकाहरूले पेन्सन नपाउने भएको कारण यो समस्या पनि बढीमा २०८९ सालसम्म मात्रै रहनेछ । त्यसपछि सबै प्रहरी कर्मचारी उपदान लिने अवकाशमा जाने भएकाले त्यसपछि यो समस्या पनि नआउने प्रहरी कर्मचारीको भनाई छ ।

अहिले प्रस्ताव गरिएको पद सिर्जनामा जवानमा भर्ना भएका व्यक्ति घर जाने बेला कम्तीमा सई बनेर अवकाश पाउनेछन् । त्यसै गरी असईमा भर्ना भएका व्यक्ति घर जाने अवस्थामा कम्तीमा डिएसपी पदबाट अवकाश पाउने व्यवस्था हुनेछ । तर अहिलेकै व्यवस्था रहिरहने हो भने असईमा भर्ना भएका केही व्यक्ति त इन्स्पेक्टर नै नहुँदै अवकाशमा पुग्नेछन् ।

यस्तो हुनेछ फुली र दर्ज्यानी चिन्ह:

प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको नयाँ पद स्वीकृत भएमा अब दर्ज्यानी चिन्ह पनि फरक फरक हुनेछ । नयाँ पद सिर्जना गरिएको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) अब तीन तारा (फुली)मा देखिनेछन् । भारतीय प्रहरीमा भएजस्तै तीनवटा तारा लगाएर वरिष्ठ सई फिल्डमा खटिनेछन् ।

त्यसै गरी अहिले हवल्दारले तीन धर्काको दर्ज्यानी चिन्ह लगाउने गरेकामा हवल्दारले सोही दर्ज्यानी चिन्ह लगाउनेछन् भने सहायक हवल्दारले एक धर्काका दर्ज्यानी चिन्ह तथा वरिष्ठ हवल्दारलाई हवल्दारले लगाउने तीन धर्काको दर्ज्यानी चिन्हमा एउटा ठाडो धर्का काटिने छ ।


यस्तो हुनेछ कमान्ड सिस्टम:

चेन अफ कमान्डमा चल्ने नेपाल प्रहरीभित्र नयाँ पद सिर्जना भएसँगै कमान्ड पनि परिवर्तन गरिने भएको छ । यसअघि एक जना हवल्दारले १० जना जवानको कमान्ड गर्ने गरेकामा अब सहायक हवल्दारले ३ जना जवानको कमान्ड सम्हाल्नेछन् । त्यसै गरी हवल्दारले सहायक हवल्दारसमेत गरी १० जनाको कमान्ड सम्हाल्नेछन् । हवलदार मेजरले हवल्दारसमेतलाई कमान्ड गर्नेछन् ।

त्यसै गरी यसअघि एक जना असईले २५ जनाको कमान्ड सम्हाल्दै आएकामा अब पनि त्यही व्यवस्था रहनेछ । सईले ५० जनाको कमान्ड सम्हाल्दै आएकामा अब पनि त्यही व्यवस्था रहनेछ । वरिष्ठ सईलाई भने इलाका प्रहरी कार्यालय, सहरी क्षेत्रको प्रहरी चौकी, एकाउन्टेन्ट, बहालवाला भिआइपीको सुरक्षा आदि काममा खटाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post