धर्तीको स्वर्ग हो च्छो रोल्पा !

वरिपरि हिमाल, बीचमा ताल । ताल पनि पूरै हिउँले ढपक्क ढाकेको । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो ।

तालसम्म पुग्न उकालो चढ्दा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरियो । तालको डिलमा बसेर हेरिरहँदा एकपटक आफैलाई चिमोटुँ झैं भयो– यो सपना हो कि विपना !






तालको विशेषता
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य हो, च्छो रोल्पा ताल । दोलखा जिल्लामा पर्ने यो ताल नेपालको सबैभन्दा उचाइमा रहेको ठूलो हिमतालमध्ये एक हो । समुन्द्री सतहबाट चार हजार ५८० मिटर उचाइमा रहेको यो ताल डुलुङ हिमालको फेदमा छ ।

तालका लागि यात्रा तय गर्दा गौरीशंकर हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न पाइनु अर्को विशेषता हो । तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिन्छ ।

सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको थियो । सन् १९९७ मा लिएको भू–उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ । तालको गहिराइ १३५ मिटर छ ।

कसरी पुग्ने ?
पहिलो दिनको यात्रा काठमाडौंदेखि दोलखा सदरमुकाम चरिकोट हुँदै सिँगटी नजिकको गाउँ छेटछेटसम्म जीपमा १० घण्टामा पुग्न सकिन्छ । त्यसपछि छेटछेटदेखि सिमीगाँउ तीन घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यो दिनको बास सिमीगाँमा हुन्छ ।

दोस्रो दिन सिमीगाँउदेखि डोन्ग्याङ ८ घण्टा पैदल यात्रा गर्नुपर्छ । तेस्रो दिन डोन्ग्याङदेखि ना गाँउसम्म आठ घण्टाको बाटो पार गर्नुपर्छ । चौथो दिन ना गाँउदेखि च्छो रोल्पा ताल अवलोकन गरेर बेदिङ पुगिन्छ । पाँचौ दिन बेदिङबाट आठ घण्टा पैदल यात्रा गरेर सिमीगाँउ आउन सकिन्छ । छैटौं दिन सिमीगाँउदेखि छेटछेटसम्म पुनः ३ घण्टा पैदल यात्रा गरेर त्यहाँबाट मोटरमा काठमाडौं फर्किन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post