खै कुन शब्दले गरुँ म तिम्रो बयान


ए ! मेरो समाज तिम्लाई मुरीमुरी धन्यवाद 
धन्यवाद, तिम्रा ती तमाम गाली र गलौजहरुलाई 
धन्यवाद, तिम्रा ती अपशब्द र अपवादहरुलाई 
धन्यवाद, तिम्रा यी सबै मानवता हराएका बस्तीहरुलाई 
अझै मुरीमुरी धन्यवाद छ तिम्रा यी भ्रष्ट र भ्रामक विचारहरु लाई ! 

एउटा प्रश्न सोध्ने चेष्टा म गर्दैछु, ए समाज तिमी उत्तर देउ
यस माहामारीको घडी अहोरात्र खटिनु नै हाम्रो भूल भो भनिदेऊ 

के पाप र के धर्म त तिमी बडो छुट्याउछौँ ए मेरो समाज 
ल भनिदेऊ त अब संकट घडीमा हामीप्रतिको व्यवहार कतिको धर्म भो ? 

उत्तर देउ मेरो समाज के हामीले कहिले घिन मान्यौँ तिम्रा ती बर्षौ पुराना पिपले भरिएका घाऊहरु देखेर 
के तिम्रा ति अनेकौ सरुवा रोगबाट डराएर भो 
तिमी टाढै बस भनि कराएको सुन्यौ कहिले ? 

प्रशव पीडाले छट्पटाएकी तिम्री श्रीमतीदेखि दमले सिकिश्त भएकी तिम्री आमा 
निमोनियाले सिथिल तिम्रो एक महिने शिशुदेखि
जन्डिस ले ग्रस्त तिम्रा बुवा 

यी सबै समस्याको समाधान खोज्दै मेरो दैलोमा आउने तिमी 
ल भन मेरो समाज तिम्रो यस्तो व्यवहारले भोलि यही पीडामा ओखति म कसरी लगाऊँ ?
आत्मसम्मानमा तिमीले दिएको यो चोट भुलेर कसरी तिम्रै सेवामा म लागौँ ?

तिम्रा अनेकौ रोग र व्यथासँग लड्न हामीले वर्षौ लगाएर पढेको छौँ 
तर मेरो समाज तिमी सँगै लड्न भने हामीलाई केही कतै सिकाईएको छैन I

ए मेरो समाज सक्छौ भने हौसला देउ, रोगसँग लड्ने प्रेरणा देउ 
सक्दैनौ भने मेरो समाज तिमी मनोबल गिराउने काम नगर 
तिमिसँग लड्ने बाध्य नपार !

-त्रिवि शिक्षण अस्पताल

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post