समाजलाई सम्झाउनु कसरी ??


सृक्की शर्मा

समाज र छरछिमेक चाहिने भनेकै एकअर्काको खुसीमा मिलेर रमाउन अनि समस्यामा सहयोग गर्नका लागि हो। तर, कोरोना संक्रमणका बारेमा सञ्चार माध्यमहरुले पटकपटक जानकारी दिइरहँदा र फोनको रिङ टोनमा नै कोभिडका बारेमा जनचेतनामूलक सन्देश प्रसारण भइरहँदा पनि एकर्कालाई सहयोग गर्ने क्रम समाजमा न्यून हुँदै गएको महसुस हुन्छ।

सहयोग त परैको कुरा, आफ्नो घर छेउमै अर्को घरमा कोरोनाबाट संक्रमित छ भने उसलाई सिंगो समाज नै लागेर त्यहाँबाट निकाल्ने चेष्टा गरिन्छ। २ मिटरभन्दा परको दूरीमा कोभिड फैलिने सम्भावना न्यून छ भन्ने जानकारी हुँदाहुँदै पनि २ किलोमेटर परका मान्छेहरुको हुल नै आएर घर घेराउ गरिएका दृश्यहरु समेत देखिन थालेक छन्।

कसैलाई कोभिड संक्रमण भएर कुनै गम्भीर लक्षण नदेखाउँदा पनि कसलाई भन्ने र कसलाई नभन्ने तनाव मानिसहरुमा भइरहेको देखिन्छ। मलाई कोभिड भएको थाहा पाएमा समाजले के सोच्ला, कस्तो व्यवहार गर्ला भन्ने पिर भएको देखिन्छ।

कसैले कोभिड संक्रमण भएको थाहा पाएर फोन गरिहाल्यो भने पनि 'मैले तिमीलाई कोभिड लागेको कुरा सुनें, राम्ररी बस्नु' भन्दैन। त्यो संक्रमितले मलाई आफूलाई कोभिड भएको कुरा भन्दोरहेछ कि रहेनछ भन्ने क्रस चेक गर्नको लागि मात्र उसले फोन गरेको हुन्छ। अनि संक्रमितले पनि आफूलाई कोभिड संक्रमण भएको भन्न सक्दैन।

समाजका बुझेका, जानेका व्यक्तिहरुले पनि आफ्नो समुदायमा कसैलाई कोभिड भएको थाहा पाएपछि संक्रमित केकस्तो अवस्थामा छ, त्यो जान्ने कोसिस गर्दैन। बरु त्यो टपिकलाई एउटा हल्ला र मसला समाचारको विषय बनाउँछ अनि समुदायभरि फलानो, ढिस्कानोको घरमा कोरोना लाग्यो रे भन्दै हिंड्छ। हरेक पटक त्यो घर अगाडिको बाटो हिँड्दा "यही हो कोरोना लागेको मान्छेको घर" भन्छ। संक्रमितको मनोबल कसरी बढाउने भन्ने कुनै व्यक्तिले चासो देखाउँदैन। उल्टो हेय र अपहेलना महसुस गराउने मानिस प्रशस्त देखिन्छन् नेपाली समाजमा। 

कुनै भयंकर अपराध गरेर जेलामा थुनिएको मान्छेलाई झैँ गरी हेरिन्छ, सोचिन्छ संक्रमितलाई। संक्रमितलाई मात्र होइन, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमित हुन् या नहुन्, समाजदेखि डराउनु परेको छ। मन भारी हुँदाहुँदै पनि दिनभरि अस्पतालमा काम गरेर, दुनियाँ लकडाउनले बन्द हुँदा पनि आराम नपाई निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समाजले दुश्मनलाई झैँ व्यवहार गर्छ। घर घेराउ, तोडफोड, हातपात गर्छ, डेराबाट निकाल्छ।

३५ हजारभन्दा बढी नेपाली कोभिडबाट संक्रमित भए तैपनि नेपाली समाजले यो एउटा रोग हो, सबैलाई लाग्नसक्छ, हरेकलाई हरेकको सहयोग चाहिन्छ भन्ने हिसाबले हेरेको पाइँदैन। संक्रमित र स्वास्थ्यकर्मीको मनोबल बढाउने, हौसला दिने काम मनदेखि गर्न सकेको महसुस हुँदैन। पहिलापहिला समाजका जुन अगुवा, टोल सुधारका प्रमुखहरुले स्वास्थ्यकर्मीको सम्मानमा ताली बजाए, दीप बाले, राष्ट्रिय गान गाए अहिले उनीहरु नै टोलबासीलाई एउटा समूहमा जुटाएर स्वास्थ्यकर्मी बसिरहेको घर घेराउ गर्न थालेका छन्।

कोभिड स्वास्थ्यकर्मीले मात्र सार्ने होइन, सामजका जोसुकैबाट जसलाई पनि सर्न सक्छ तर दोष स्वास्थ्यकर्मीमाथि लगाइन्छ। सरकारले लक्षण नभएका बिरामीलाई होम क्वारेन्टाइनमै बस्न अनुरोध गरेको छ। तर समुदायका व्यक्तिले त्यसरी बसेको थाहा पाएपछि संक्रमितलाई त्यहाँबाट निकाल्छन्। यस्तो भइरहँदा संक्रमण भएको कुरा लुकाउन बाध्य हुने धेरै छन्। 

आखिर यति धेरै अन्धविश्वास किन? क्षयरोग, एचआइभी, मानसिक रोग, छारे रोग लगायतका रोगहरुलाई हेयको दृष्टिकोणले हेर्ने क्रम नेपाली समाजमा अलि कम भयो धेरै वर्षहरुपछि। तर अहिले अपराधी झैँ व्यवहार कोभिड संक्रमितले सहनुपरेको छ। समाजमा अब म कसरी फेस गर्ने भन्ने डर पो बढी छ, डिस्चार्ज भएर जानेहरुलाई। 

अरुको दु:खमा आफू बसेर सोचिहेरे सबैको मनमा एकता र सहयोग बढ्न पुग्छ। टोलबाट निकालिएका, घेरा हालिएका, तोड्फोड गरिएका स्वास्थ्यकर्मीले कुनै दिन ती घेरा हाल्नेलाई, तोड्फोड गर्नेलाई अनि घरबाट निकाला गर्नेहरुलाई हेरचाह गर्ने दिन आउँदैन र? बाटो हिँड्दा यो कोरोना लगेको मान्छेको घर हो भन्दै अपमान गर्नेलाई भोलि त्यही संक्रमित डिस्चार्ज भइसकेपछि उनीहरुलाई कोभिड हुँदा सहयोग गर्ने र सम्झाउने दिन आउँदैन र?

हौसला दिने व्यक्तिलाई संक्रमितले जीवनभरि सम्झिरहन्छ। किनकी, सुखमा त जसले पनि साथ दिन्छ, दु:ख-पीडाको बादल छाउँदा साथ दिने पो असल व्यक्ति हो त। पीडामा झन् अर्को पीडा थपिदिने प्रबृत्ति मानवजातिमा बढ्दै गयो भने त्यो समूहलाई राक्षसी समूहको नाम दिँदा पनि असुहाउँदो नहोला। 

(शर्मा पाटन अस्पतालको कोभिड वार्डमा कार्यरत छिन्।)

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post