बालबालिकामा मास्कको प्रयोग

डा दीपक मोक्तान

'डाक्टरसा'ब, बच्चाले पनि मास्क लगाउनुपर्छ र?', 'कस्तो मास्क लगाइदिने होला?', 'मास्क लगाउँदा के-के होशियारी अपनाउनु पर्ला?' बारम्बार सोधिने प्रश्न हुन् यी। 

कोभिड-१९ बाट बच्न र बचाउन मास्कको प्रयोग, साबुनपानी वा स्यनिटाइजरले हात धुनु र शारीरिक दूरि कायम गर्नु अपरिहार्य छ। वयस्क मानिसले समेत मास्कको सही तरिकाले प्रयोग नगरेको वा नभएको समाचार बारम्बार देख्दा प्रश्न उठ्छ, बालबालिकामा मास्कको प्रयोग कसरी भएको होला? कुनै पनि रोगबाट बच्न वा बचाउन प्रयोग गरिने विधि वा साधनको पहिलो सर्त स्वास्थ्यमा नोक्सान नपुर्‍याउनु हो र हुनुपर्छ। मास्कको सही प्रयोग नगर्नाले फाइदाभन्दा पनि नोक्सानी भइरहेको पनि हुनसक्छ।

कोभिड-१९ सम्बन्धी धेरै अध्ययन-अनुसन्धान भएको भए तापनि वयस्कको तुलनामा बालबालिका सम्बन्धी न्यून छ। धेरै देशहरुमा हाल लकडाउन र स्कुल बन्द भएका कारण संक्रमित बालबालिकाहरुमा घरपरिवारबाट सरेको देखेको छ। त्यसैले बालबालिकाहरु कोभिड रोग सार्न कति जिम्मेवार छन् भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन। 

गत साता प्रकाशित विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार पाँच वर्षभन्दा माथिका बालबालिकामा मात्र मास्क लगाउन सिफारिस गरिएको छ। यस उमेरलाई उसले अनुसन्धान भन्दा पनि विज्ञहरुको सल्लाहमा राखिएको बताएको छ। तर अमेरिकाको सिडिसी तथा बालबालिकाको अनुसन्धानमा काम गर्ने विश्वका संस्थाहरुले भने २ वर्षभन्दा माथिकोमा प्रयोग गर्नुपर्ने बताएको छ। 

कोभिडको संक्रमणको दर, सामाजिक अवस्था, जोखिम र बालबालिकाको विकास क्रमलाई हेर्दा २ वर्षभन्दा माथिकाले मास्क लगाउन आवश्यक छ। 

साना बच्चामा श्वास नली राम्ररी विकसित नभइसकेको र सानो हुन्छ। त्यसैले मास्क लगाउँदा बच्चा निसास्सिने हुन्छ र शरीरमा अक्सिजनको कमी हुन्छ। अर्को भनेको साना बच्चालाई मास्कले श्वास फेर्न गाह्रो पर्दा आफैं निकाल्न सक्दैनन् र भन्न पनि सक्दैनन्। बच्चाको धेरै ठाउँमा छुने तथा खेल्ने बानी हुन्छ जसले गर्दा फोहर हातले मास्कमा छुँदा भाइरस, ब्याक्टेरिया आदि नाक-मुखबाट भित्र छिर्न सक्छ। फलस्वरुप फाइदाभन्दा पनि हानि पुर्‍याइरहेको हुन्छ। बच्चाले थुक्न सक्ने वा र्‍यालको कारण मास्क भिज्न सक्छ र भिजेको मास्कबाट श्वास फेर्न धेरै गाह्रो हुने गर्छ। अर्कातिर यदि बच्चा संक्रमित छ र उसले आफ्नो मास्क छोएको हातले अरु ठाउँमा छोयो भने अरुलाई सार्न सक्ने जोखिम पनि रहन्छ। 

अतः २ वर्षभन्दा मुनिका बालबालिकालाई मास्क लगाइदिनु हुँदैन र २ देखि ५ वर्षसम्मको उमेर समूहकोलाई माथि उल्लेखित कुराहरुलाई ध्यान दिई अभिभावकको प्रत्यक्ष निगरानीमा मात्र लगाउनुपर्छ। यसका साथै श्वासप्रश्वासको समस्या भएको तथा अचेत अवस्थामा मास्क लगाउनु हुँदैन।

बच्चालाई अनावश्यक रुपमा नयाँ मानिसको नजिक लाने तथा छुने गर्नुहुँदैन। उनीहरुलाई छुनु वा हेरचाह गर्दा सधैं आफ्नो हात साबुनपानीले धुनुपर्छ। अफिस वा बाहिरबाट फर्केपछि सिधै बच्चालाई छुनुभन्दा अगाडि नुहाएर वा आफ्नो लुगालाई फेरेर साबुनपानीले हात धोएर मात्र छुने बानी गर्नुपर्छ। 

स्वस्थ बच्चालाई बजारमा पाइने कपडाको मास्क लगाइदिनुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कपडाको मास्क तीन पत्रे हुनुपर्छ। दीर्घरोगी बालबालिका जस्तैः क्यान्सर, मधुमेह, मुटु रोग आदि भएमा मेडिकल मास्क लगाउनुपर्छ। यसका साथै उनीहरुमा कोभिडको जस्तो लक्षण देखिएमा मेडिकल मास्क लगाइदिनुपर्छ र चिकित्सकसँग आवश्यक सल्लाह लिनुपर्छ। मेडिकल मास्क एकपटक लगाएपछि सही ठाउँमा फाल्नुपर्छ। यसलाई पुनः प्रयोग गर्न मिल्दैन। तर कपडाको मास्कलाई तातोपानी र साबुनले धोएर घाममा सुकाएर फेरि प्रयोग गर्न सकिन्छ। शारीरिक व्यायाम जस्तै: दौडँदा, उफ्रँदा, खेल्दा मास्क लगाउनु हुँदैन अन्यथा श्वासप्रश्वासमा समस्या हुन जान्छ। 

बच्चालाई मास्क लगाइदिनुअघि साबुनपानी वा स्यानिटाइजरले राम्ररी हात धुनुपर्छ। मास्कले नाक, मुख र च्यापु राम्ररी ढाकेको हुनुपर्छ। धेरै खुकुलो वा कस्सिएको हुनुहुँदैन। लगाउने तरिका तथा मास्कलाई नछुन वा नचलाउन सिकाउनुपर्छ र बुझ्ने भाषामा लगाउनुको कारण बुझाउनुपर्छ। मास्क फोहर वा भिजेको छ भने अर्को मास्क प्रयोग गर्नुपर्छ। भुलबस मास्कको अगाडिको भाग छुन पुगेमा तुरुन्त हात धुनुपर्छ। मास्क फुकाल्दा पनि होशियारीका साथ कानको डोरी समाएर अगाडिको भागलाई नछोई फुकाल्नुपर्छ। फुकालिसकेपछि साबुनपानी वा स्यानिटाइजरले राम्ररी हात धुनुपर्छ। कपडाको मास्कलाई माथि भनेझैं धोएर पुन प्रयोग गर्नुपर्छ। एक व्यक्तिले प्रयोग गरेको मास्क अर्को व्यक्तिको गर्नुहुँदैन, आफ्नोआफ्नो छुट्टाछुट्टै हुनुपर्छ। 

सुरुसुरुमा बच्चा मास्कसँग डराउन सक्छन् वा लगाउन मान्दैनन्। विस्तारै बानी बसाउँदै लैजानुपर्छ। कहिले पनि बच्चालाई कर गरेर मास्क लगाइदिनुहुँदैन। उनीहरुलाई मनपर्ने चित्र भएको डिजाइनको मास्क किन्न सकिन्छ। अरु कुनै बच्चाले लगाएको छ भने उदाहरणको लागि देखाउन सकिन्छ। मास्कमा उनीहरुलाई नै चित्र बनाउन वा कोर्न लगायो भने पनि उनीहरु मास्कसँग परिचित हुन्छन्। मास्क लगाएपछि उनीहरुलाई डाक्टर वा नर्स भएको नक्कल गरेर पनि बानी लगाउन सकिन्छ। 

ख्याल गरौं, बालबालिकाले सिक्ने भनेको अभिभावकबाटै हो। उनीहरुमा देखेको कुरा छिट्टै सिक्ने गुण हु्न्छ। त्यसैले अभिभावक आफैंले पनि मास्क सही तरिकाले लगाउनुपर्छ। समाचार तथा सामाजिक सन्जालमा मानिसले अझ भनौं, ठूला पदमा आसिन व्यक्तिहरुले पनि मास्कको सही प्रयोग नगरेको देखिन्छ। यदि बीचमा मास्क अपर्झट खोल्नुपर्‍यो भने कदापि च्यापु वा घाँटीमा झुन्ड्याउनु हुँदैन। यसले हानि पुर्‍याउँछ। यस्तो अवस्थामा मास्कलाई फुकालेर सफा प्लास्टिक झोलामा सिल गरेर राख्ने र काम सकेपछि फेरि प्रयोग गर्न सकिन्छ तर होशियारी भने अपनाउनुपर्छ। 

मास्कको साथसाथै शारीरिक दूरी कायम गर्नु र साबुनपानीले हात धुनु कोभिड संक्रमण घटाउन अति आवश्यक छ। 

कोभिड संक्रमण फैलिएको करिबकरिब ९ महिना भइसकेको छ। यति लामो अवधिमा पनि अझै मास्कको सही प्रयोग नगर्ने हो भने मास्क आफैंले तपाईं-हामीलाई गिज्याउला कि?

(डा मोक्तान बालरोग विशेषज्ञ हुन्।)

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post