किन मेटिन्छ ‘ए’ डिभिजन फुटबल क्लबको अस्तित्व, यी क्लब भए इतिहासमा सीमित


विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ । पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो । घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन् । 

लिगको पुछारमा रहेपछि सरस्वती युथ क्लब हालसालै सम्पन्न ‘ए’ डिभिजिन लिगबाट ‘बी’ डिभिजनमा घटुवा भयो । १३ औं चरणको खेल सकिदा टोलीले एक जित र एक बराबरी खेलेको थियो भने ११ खेलमा सरस्वतीले नतिजा सुम्पिएको थियो । त्यसपछि दशक लामो ‘ए’ डिभिजनको अस्तित्व सरस्वतीले गुमाउन पुग्यो ।

सुरुआतबाट नै लिगमा कमजोर देखिएको सरस्वतीलाई १३औं चरणका खेल सम्म आइपुग्न निकै धौ धौ भयो । यसमा क्लबका थुप्रै पदाधिकारीहरू दुःखी छन । सरस्वती पछिल्लो लिगको उदाहरण हो । तर यस्ता क्लब धेरै छन् । ती मध्येको भक्तपुरको मध्यपुर युथ अहिले ‘ए’ डिभिजन लिगबाट हराइसकेको छ । मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले कुनैपनि क्लब शीर्ष डिभिजनमा रहिरहन आर्थिक पाटो महत्त्वपूर्ण हुने बताए । आर्थिक पाटोमा कमजोर हुँदा क्लबले उत्कृष्ट खेल खेल्न नसक्ने र शीर्ष डिभिजनको अस्तित्व समेत गुमाउनुपर्ने अवस्था आउने सिंहले बताए । 

कुनैपनि नेपाली क्लब दोस्रो डिभिजनमा झ¥यो भन्दा पनि किन पुनः शीर्ष डिभिजनमा फर्किन सक्दैनन् भन्ने हो । फुटबलको इतिहासमा रेलिगेसनमा झरेका अधिकांश क्लब फेरी उक्लन सकेका छैनन् । 
उनीहरूको अस्तित्व समाचारमा मात्र सिमित हुने गरेको छ । एक जमानामा अन्नपूर्ण, सुनाखरी, महाबीर, नोर्बुलिङ, लालुपाते टिम, नक्साल खेलमण्डल, काठमान्डू क्लब, बौद्ध, ब्वाइज स्पोट्र्स, स्वयम्भू, कोइलापानी, सुन्धारा, ज्ञानेश्वर, बालकुमारी, नघल टोल टिम जस्ता क्लबले ‘ए’ डिभिजनका खेल खेलेका थिए । अहिले नाम सुन्दा अचम्म लाग्छ । तर यी क्लबहरू अहिले अस्तित्वमा छैनन् । 

रानीपोखरी कर्नर टिम (आरसीटी), न्युरोड टिम (एनआरटी) र संकटा जस्ता क्लबमा विभिन्न उप क्लब पनि थिए । धेरै खेलाडी भएकाले त्यस अन्तर्गतका हाँगा क्लबहरूले लिगमा प्रतिस्पर्धा गर्थे । ती सबै क्लब ‘बी’ डिभिजनमा घटुवा भएपछि विलिन भए । आरसीटीका सातवटा क्लब थिए भने संकटाको सेतो र रातोगरी दुई टोली थिए । यस्तै एनआरटीसँग योङ एनआरटी पनि थियो । अहिले यी क्लबमा मुस्किलले टोली पुग्छ । ‘बी’ डिभिजनमा झरेसँगै उठ्न नसक्नुको कारण नयाँ क्लबहरुको उदय र लगानी कर्ताको इच्छामा नयाँ क्लब देखिएको बताउँछन्, फुटबल विश्लेशक सञ्जीब मिश्र । 

विदेशी अभ्यासलाई नियाल्दा घटुवा भएको फुटबल क्लब शीर्ष डिभिजनमा फर्किन दिन रात मेहनत गर्छन् । त्यस्ता क्लबले खेल भावना विपरित हुने कुनै पनि विषयलाई सुस्म निगरानी गर्दछ । तर नेपालमा भने यस विषयमा खासै चासो देखिँदैन । आपसी दोसारोपणमा क्लब पदाधिकारी फाट्छन् र आबद्ध खेलाडी नयाँ क्लबको खोजीमा भौतारिने प्रबृतिले क्लबको नाम मेटिने गरेको तीतो सत्य हो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post