डिजिटल उपकरण र सुख्खा आँखा


निकिता थापा

२१औं शताब्दी आधुनिकीकरणको युग, जहाँ बाँच्नको लागि टेक्नोलोजी महत्त्वपूर्ण भएको छ। हामी सबैको डिजिटल ग्याजेट जस्तै: फोन, ल्यापटप र कम्प्युटर, ट्याबलेट, इ-रिडरहरू आदि छन्, जहाँ हामी हाम्रो आँखा ख्याल नगरी सबै सुविधाहरू खपत गर्छौं। डिजिटल स्क्रिनमा आँखाको अत्यधिक एक्सपोजरको कारण, यसले आँखामा विभिन्न जटिलता जस्तै: सुक्खा र जलन पुर्‍याउन सक्छ। आज हामी डिजिटल उपकरण र सुख्खा आँखाको बारेमा छलफल गर्नेछौं।

छोटो परिचय
आँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ।

आँखा झिम्काउनु अर्थात् ब्लिंकिङ आँखाको लागि निकै महत्वपूर्ण छ, किनकि जब हामी आँखा झिम्क्याउँछौं, आँखाको आगाडि भएको आँसुको लेयर, आँखामा फैलिन्छ जसले आँखालाई चिल्लो र साफा सतह प्रदान गर्छ।

सुख्खा आँखा : यो यस्तो अवस्था हो, जहाँ आँसु आँखालाई लुब्रिकेट गर्न र पोषण दिन असक्षम भएका कारण, असुविधा र जल्दो उत्तेजनाको महसुस हुन्छ। यदि हाम्रो आँखाले पर्याप्त मात्रमा आँसु उत्पादन गर्दैन वा आँसुको पर्याप्त उत्पादनमा कुनै दोष भयो भने आँखा सुख्खा हुनसक्छ।

सुख्खा आँखाका सबैभन्दा सामान्य लक्षण
• आँखा चिलाउने 
• आँखा पोल्ने
• धमिलोपन
• आँखाबाट पानी आउने आदि।

कम्प्युटर भिजन सिन्ड्रोम (सिविएस) : यो भनेको दृष्टि र आँखा सम्बन्धी समस्याहरूको एक समूह हो। यो अवस्था डिजिटल स्क्रिनहरूमा हाम्रो आँखाको अतुलनीय प्रदर्शन भएमा हुने गर्छ। अमेरिकी अप्टोमेट्रिक एसोसिएसनले यसलाई डिजिटल नेत्र तान भनेर वर्णन गरेको छ।

लक्षण
• टाउको दुख्ने,
• आँखा पोल्ने,
• सुक्खा आँखा,
• आँखा थाकेको महसुस हुने,
• काँध तथा ढाड दुख्ने आदि

डिजिटल उपकरण र सुख्खा आँखा
यस आधुनिक युगमा लगभग धेरै व्यक्ति ल्यापटप र कम्प्युटरका सामु काम गर्छन् र मोबाइल फोनको प्रयोग गरिरहेका हुन्छन्। सामान्यतया स्वस्थ व्यक्तिहरू प्रतिमिनेट १०-१५ पटक आँखा झिम्क्याउँछन्। धेरै अध्ययन र अनुसन्धानहरूको निष्कर्ष अनुसार जति बढी मात्रामा हामीले डिजिटल स्क्रिनको प्रयोग गर्छौं, हामीले हाम्रो आँखा उत्तिकै कम झिम्क्याउँछौं। यसरी डिजिटल स्क्रिनको अत्यधिक प्रयोगसँगै जब आँखा कम झिम्किन्छ यसले जलन र सुक्खा आँखा गराउने गर्छ।

हामीले सामान्य रूपमा आँखामा पानी (आँसु) छ भनेर सोच्दछौं तर वास्तवमा आँखामा ओइल र म्युकस पनि रहेको छ, जुन स्क्रेट भइरहेको हुन्छ। आँखाको नानी कोर्नियाको आगाडि पातलो कोट हुन्छ, जसलाई टियारफिल्म भनिन्छ, जसले आँखालाई स्नेह दिन्छ र मोइस्चराइज गर्छ। जसरी आँखा झिम्काउने दरमा कमी आउँछ, आँसुको लेयर घट्छ जसले ड्राई आई सिन्ड्रोमका लक्षणहरू निम्त्याउँछ र यदि आँसुको कोट धेरै घटेमा ड्राई आई हुन पुग्छ। सुक्खा आँखा बाहेक यसले आँखामा जलन र असुविधा पनि पुर्‍याउँछ। अध्ययनले पत्ता लगाएझैं अन्ततः आँखा विभिन्न संक्रमणको सिकार हुन सक्छ।

उपचार
सुक्खा आँखाको उपचार गर्न सर्वप्रथम बिरामीको इतिहास लिएर विस्तृत आँखा परीक्षण गर्नुपर्छ। बिरामीको दृष्टि मूल्यांकन गरिसकेपछि आँखा झिम्क्याउँने दर, आई लिड र कोर्नियाको अवस्था मूल्यांकन गरेर, आँसुको गुणस्तर र मात्रा मापन गर्नुपर्छ।

प्राथमिक दृष्टिकोणहरू
१. आँसु थप्ने: सामान्यतया हल्का केसहरू कृत्रिम ड्रपको प्रयोग गरेर उपचार गरिन्छ। संरक्षक-मुक्त आँखा ड्रप दीर्घकालीन प्रयोगको लागि राम्रो हुन्छ भन्ने मान्यता छ।

२. आँसुको उत्पादन बढाउन पौष्टिक पूरकको रूपमा ओमेगा ३ फ्याट्टी एसिड लिएर आँसुको उत्पादन बढाउन मद्दत गर्न सकिन्छ।

३. वाष्पीकरण घटाउनुहोस्: ह्युमिडिफायरको साथ कोठाको तापमान घटाउने।

४. आई लिडको उपचार जस्तै: ब्लेफेराइटिस भएमा वा आई लिडको स्वच्छताका लागि उपायहरु आपनाउनु महत्त्वपूर्ण छ। यदि आँखा वरिपरि कुनै प्रकारको सुजन भयो भने तातो कम्प्रेस वा लिडको मसाजले यसलाई मद्त गर्न सक्छ।

कम्प्युटर प्रयोगको लागि

१. कम्प्युटरको स्थान: मोनिटर वा स्क्रिनलाई हातको लम्बाइमा राख्ने, लगभग २५ इन्च टाढा र स्क्रिनको हेराइ थोरै तलतिर हुने गरी मिलाउने।

२. एन्टी-ग्लेर गिलास: ग्लास स्क्रिनहरूको अत्यधिक उज्यालोपनले आँखालाई असर पारी आँखा पोल्ने वा आँसु आउने जस्तो समस्या आउन सक्छ। यस स्क्रिनबाट आएको उज्यालोपनबाट हुने आँखा जलनलाई एन्टि-ग्लेर चश्माको प्रयोग गरेर कम गर्न सक्छौं।

३. प्रकाश: वरिपरिको उज्यालोभन्दा यदि स्क्रिनको प्रकाश अधिक उज्यालो छ भने हाम्रो आँखालाई स्क्रिन हेर्न अझै बढी संघर्ष गर्नुपर्छ। स्क्रिनको प्रकाश समायोजन गरेर आँखामा परेको तनाव कम गर्न सकिन्छ साथै स्क्रिनको कन्ट्रास्ट बढाएमा आँखालाई सजिलो हुन्छ।

४. आसन स्थिति: कुर्सीको बसाइ पनि सहज हुनुपर्छ। कुर्सीको उचाइ तपाईंको पैताला भुइँमा सन्तुलित हुनेगरी व्यवस्थित गर्ने र हातहरू टाइप गर्दा समर्थन प्रदान गर्ने गरी समायोजित गर्नुपर्छ।

५. आँखालाई विश्राम दिनुहोस्: २०-२०-२० नियमको पालना गर्नुहोस् अर्थात् कम्प्युटर वर्क गर्दा प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म कुनै वस्तुलाई केहीबेर हेर्नुहोस्, यसले तपाईंको आँखालाई आराम दिन्छ।

६. स्क्रिन हेर्दा बारम्बार आँखा झिम्क्याउने र झिम्क्याउने लगातार प्रयास गरिरहने (१५-२० पटक / मिनेट)।

७. अत्यधिक स्क्रिन प्रयोग नगर्ने।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post