बार्सिलोनाको बोर्डसँग अन्तिम छलफल गर्ने मेस्सीको इच्छा, ‘युद्ध’ नलम्ब्याउने चाहना


लियोनेल मेस्सी बार्सिलोना छाड्न दृढ छन् तर उनी बार्सिलोनाको बोर्ड सदस्यहरुसँग भेटेर राम्रो वातावरणबीच क्लब छाड्न चाहन्छन् । करिब २० वर्ष क्याम्प नाउमा बिताएका मेस्सीले गत मंगलबार आफूले क्लब छाड्न चाहेको बार्सिलोनाको बोर्डलाई जानकारी दिएका थिए ।

पछिल्लो समय क्लब र मेस्सी बीचको सम्बन्ध बिग्रिदै गइरहेको थियो । अध्यक्ष जोसेप मारिया बार्टोमेउले लिएका निर्णयहरुबाट मेस्सी असन्तुष्ट थिए । जसमा नेयमारलाई बेच्ने निर्णय तथा अर्नेस्टो भालभर्डेलाई बर्खास्त गर्ने निर्णय सामेल छन् ।

यसमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग बेहोरेको ८–२ को लज्जास्पद हार मेस्सीका लागि निर्णायक बन्न पुग्यो । खेलपपछि मेस्सीले फ्याक्समार्फत बार्टोमेउलाई आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए ।

मेस्सीले आफ्नो करारमा रहेको ‘सिजनको अन्त्यमा सित्तैमा जान पाउने’ बुँदालाई टेकेर क्लब छाडेर जाने अनुमान गरिएको थियो । उक्त करारको अवधि यसअघि नै समाप्त भइसकेको भए पनि उनको कानुनी टीमले कोरोनाभाइरसको महामारीका कारण २०१९–२० सिजन लम्बिएको कारण यो अझै लागू नै रहेको दलिल प्रस्तुत गर्ने बुझिएको थियो ।

तर, गोल डटकमका अनुसार मेस्सी बार्सिलोनाको बोर्डसँग कुरा गरेर सहमतिमा क्लब छाडेर जान चाहन्छन् । मेस्सी क्लबविरुद्ध ‘सार्वजनिक युद्ध’ लम्ब्याउन चाहन्न् । उनको निर्णयले यसअघि नै विवाद सिर्जना गरिसकेको छ । मेस्सीको निर्णयसँगै फ्यानहरुले क्लबबाहिर अध्यक्ष बार्टोमेउविरुद्ध प्रदर्शन नै गरेका थिए ।

मेस्सीले हालै मात्र यस विषयमा आधिकारिक वक्तव्य जारी गर्ने पनि संकेत गरेका थिए । तर, कहिले भन्ने यकिन मिति भने खुलाएका छैनन् ।

तर, बार्सिलोना भने मेस्सीसँग यस विषयमा छलफल गर्न अनिइच्छुक देखिएको छ । मेस्सीसँग केवल उनको करार नविकरणको विषयमा मात्र छलफल हुन सक्ने क्लबको भनाइ छ । अब कसैले ७० करोड युरो तिर्न सके मात्र मेस्सीले क्लब छाड्न सक्ने बार्सिलोनाको बोर्डको अडान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post