बिलबोर्ड चार्टको शीर्ष स्थानमा बीटीएसको 'डायनामाइट'


काठमाडौँ — के-पप ब्यान्ड 'बीटीएस' 'बिलबोर्ड हट १००'को शीर्ष स्थानमा पुग्ने पहिलो साउथ कोरियन सांगीतिक समूह भएको छ । मंगलबार ब्यान्डको डेब्यू अंग्रेजी गीत 'डायनामाइट' चार्टको पहिलो स्थानमा पुगेको हो । यसअघि ब्यान्डकै 'अन'बोलको गीत बिलबोर्ड चार्टको चौथो स्थानमा पुगेको थियो ।

'बिलबोर्ड हट १००' मा गीतको बिक्री वितरण, रेडियो प्रसारण र अनलाइन स्ट्रिमिङका आधारमा गीतको सूची तयार पारिन्छ ।

'डायनामाइट'ले चौथौ पटक बीटीएसलाई बिलबोर्डको शीर्ष १० को सूचीमा ल्याएको हो । यो गीत युट्युब प्रिमियरमै सर्वाधिक हेरिएको भिडियो रहेको 'द इन्डियन एक्सप्रेस'मा उल्लेख गरिएको छ । गीतले अहिलेसम्म २६ करोडमाथि युट्युब भ्यूज प्राप्त गरेको छ ।

हालै न्युयोर्कमा सम्पन्न 'एमटीभी भिडियो म्युजिक अवार्ड'मा सात सदस्यसहितको यो ब्यान्डले यस गीतमा प्रस्तुति दिएको थियो । अवार्ड कार्यक्रममा बीटीएस बेस्ट-पप, बेस्ट के-पप, बेस्ट ग्रुपको विधामा मनोनित भएको थियो । यी तीनै विधामा ब्यान्डले अवार्ड पाएको थियो । 'अन'बोलको गीतबाट उनीहरुले बेस्ट कोरियोग्राफीको अवार्डसमेत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post