अन्तर्राष्ट्रिय श्रमिक दिवसमा विभिन्न कार्यक्रम हुँदै

आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस कर्णाली प्रदेशसहित नेपालभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । प्रत्येक वर्ष अंग्रेजी पात्रोको मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा श्रम दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विशेष समारोहको आयोजना गरिएको छ । कर्णाली प्रदेश सरकार श्रम तथा रोजगार कार्यालय तथा क्रियाशिल ट्रेड युनियनहरुको संयुक्त आयोजनामा ¥याली र सभा हुने भएको हो । ‘सवै श्रमिक र रोजगारदातालाई आव्हान–सामाजिक सुरक्षामा सुचिकरण हाम्रो अभियान’ भन्ने नाराका साथ विहान सात बजे बुलबुले गेट नजिकबाट प्रभातफेरी आयोजना गरी घण्टाघर नजिकको खुलामञ्चमा सभा हुने भएको छ । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा शिकागोमा भएको हेमार्केट मामलाको स्मृतिमा मनाइने गरिन्छ । त्यस दिन प्रहरीले आठ घण्टे कार्यदिनको लागि साधारण आन्दोलन गरिरहेका श्रमिकहरूलाई तितरवितर पार्ने कोसिस गरिरहेको बेलामा कुनै अज्ञात व्यक्तिले उनीहरू माथी बम फालिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post